प्रदेश राजनीति राष्ट्रिय सामाचार

संघीय सरकारले प्रहरी समायोजनमा आलटाल गरे चरणवद्ध रुपमा संघर्ष गर्ने मधेश प्रदेश सरकारकोनिर्णय

पर्सा १९ श्रावण ।संघीय सरकारले प्रहरी समायोजन गर्न आलटाल गरेको भन्दै मधेश प्रदेश सरकारले चरणवद्ध रुपमा संघर्ष गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गरी मधेश प्रदेशले चरणवद्ध रुपमा संघर्ष गर्ने निर्णय गरेको बताउनुभएको हो । उहाँले प्रदेश सरकारले संघीय सरकारलाई यसबारेमा जानकारी गराउँदासमेत चित्तबुझ्दो जवाफ नआएको भन्दै चरणवद्ध आन्दोलन गर्ने निर्णयमा पुगेको बताउनुभयो ।

उहाँले प्रदेश सरकारको तर्फबाट यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँणसहित गठबन्धनका नेताहरुलाई ज्ञापनपत्र बुझाएपनि संघीय सरकार समायोजन गर्नका लागि गम्भीर नदेखिएको आरोप लगाउनुभयो । उहाँले प्रहरीबिना शान्ति सुरक्षा गर्न सम्भव नरहेको बताउँदै यसका लागि संघर्ष एकमात्र विकल्प रहेको बताउनुभयो ।

उहाँले यहि साउन २२ गते प्रदेशमा रहेका सबै दलका प्रदेश सभा सदस्यसहित सबै मन्त्रीहरुको उपस्थितिमा प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउने निर्णय गरिएको समेत जानकारी दिनुभयो । उहाँले सात दिने अल्टिमेटमसहित दिइने ज्ञापनपछि पनि सरकार प्रहरी समायोजन नगरे संघर्षका थप कार्यक्रहरु सार्वजनिक गरिने बताउनुभयो ।

उहाँले गृह मन्त्रालयमा प्रहरी समयोजना सम्बन्धि सबै कामहरु पूरा भएको र प्रधानमन्त्री र केही कर्मचारीहरुले नै यसलाई आलटाल गरिरहेको बताउनुभयो । उहाँले संघीयताको जननी नै मधेश प्रदेश रहेकाले आफूहरुले प्रहरी समायोजनाको संर्घषको नेतृत्व गरिरहेको बताउनुभयो ।

मधेश प्रदेश सरकारको अगुवाइमा गत असार २३ गते ६ वटा प्रदेशका गृह मन्त्रीहरुको भेला गरेर प्रहरी समायोजन ऐन र प्रहरी समन्वय सम्बन्धी ऐनलाई आधार लिई संघीय सरकारले यहि साउनभित्र प्रहरी समायोजन गरी प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग गरेको थियो ।