राजनीति राष्ट्रिय विचार सामाचार

शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको सुझाव

 पर्सा ३० असार ।नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गठबन्धन गरेर अघि बढ्न सुझाव दिनुभएको छ ।

बिहीबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै नेता निधिले सरकार निर्माण र सरकार सञ्चालनको लागि गठबन्धन आवश्यक रहेको भए पनि पार्टीमा पनि गठबन्धन गरेर अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।

नेता निधिले आगामी प्रदेश र संघको निर्वाचनमा कांग्रेसलाई बुहमतको पार्टी बनाउनुपर्नेमा जोड दिँदै स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा असन्तुष्टि भएका नेताहरूलाई पनि पार्टी सभापतिले अबका दिनमा समेटेर जानुपर्ने बताउनुभयो ।

निधिले अहिलेको अन्तर्राष्ट्रिय सम्बन्धको चर्चा भइरहेकोले राम्रो बनाएर अघि बढ्न र अर्थतन्त्रमा धेरै संकटलाई कांग्रेसले नै समाधान गरेर अघि बढ्न पनि प्रधानमन्त्रीसँग आग्रह गरेको बताउनुभयो ।

नेता निधिले नेपाली कांग्रेसभित्रका शक्ति केन्द्र र उपकेन्द्रलाई पनि एकीकृत गरेर लैजान आवश्यक रहेकोले पार्टी सभापतिले भूमिका खेल्नुपर्ने बताउनुभयो ।