अर्थ राष्ट्रिय सामाचार

काठमाडौं-तराई/ मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजनाको काम निर्धारित समयमा सम्पन्न गर्न संसदको विकास तथा प्रविधि समितिले आयोजनालाई निर्देशन

पर्सा १० श्रावण ।काठमाडौं-तराई/ मधेश द्रुतमार्ग (फाष्ट-ट्रयाक) आयोजनाको काम निर्धारित समयमा नसकिने देखिएपछि तोकिएको समयमै गुणस्तरीय रुपमा काम सम्पन्न गर्ने तालिकासहित आधार पेश गर्न संसदको विकास तथा प्रविधि समितिले आयोजनालाई निर्देशन दिएको छ।



समितिले सोमबार फाष्ट-ट्रयाक आयोजनासंग छलफलका क्रममा यस आयोजनाको अझै ठेक्का लगाउनै बाँकी रहेका कारण तोकिएको समयावधिमा निर्माण कार्य नसकिने देखिएको बताएको छ।

यसैकारण समितिले आयोजनासंग लागत बढ्न नदिई निर्धारित समयमा गुणास्तरीय रुपमा काम सम्पन्न गर्ने विश्वसनीय आधारसहितको चालु आवको ठोस कार्यतालिका तत्काल कार्यान्वयनमा ल्याउन र उक्त कार्यातालिका समितिलाई बुझाउन आयोजनालाई निर्देशन दिएको हो।

हालसम्म यस आयोजनाको भौतिक प्रगति २१.१८ प्रतिशत मात्र रहेको आयोजनाले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ।

आयोजनाले निर्माण कार्य सुरु गर्दा यसका वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र वातावरणीय व्यवस्थापन योजना (ईएमपी) को कार्यान्वयनको वर्तमान अवस्था र तेस्रो पक्षबाट हुने आयोजनाको अनुगमनका कार्यहरु के-कसरी कार्यान्वयन भएको छ यसको स्पष्ट जानकारी १५ दिन (साउन २४) भित्र उपलब्ध गाराउन पनि समितिले आयोजनालाई निर्देशन दिएको छ।

यसैगरी २०७८ चैत १३ गते बसेको बैठकले गरेको निर्देशनका सम्बन्धमा रक्षा मन्त्रीस्तरीय निर्णयबाट गठित छानविन समितिको प्रतिवेदन पनि प्राप्त भएको समितिले आयोजनालाई जानकारी गराएको छ।

केही समयअघि आयोजनाले सुरुङ खन्ने काम सुरु गरेको थियो। तर उक्त कार्य गुणस्तरहिन भएको शंका लागेपछि एक महिनाका लागि काम स्थगित गरिएको थियो। परामर्शदाताहरुको टोलीले गरेको अध्ययनले भने गुणस्तरहिन काम नभएको भन्दै आयोजनाले सुरुङ खन्ने काम निरन्तरता दिन भनेको थियो।